एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो
-आस्था न्यूज
फागुन २५, २०७९ काठमाडौं ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई हराएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।
जितका लागि नेपालले २९८ रनको लक्ष्य दिएकोमा पीएनजी २४५ रनमा अल आउट भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको थियो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।
नेपालका लागि सर्वाधिक आसिफ शेखले ११० रन जोड्दा कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरेका थिए ।
पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप सापकोटाले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।