Trending :
 

रामचन्द्र पौडेलले किन पहिलो राष्ट्रपतिको उमेदवारी अस्वीकार गरेका थिए ?

फाल्गुण २५,२०७९

-आस्था न्यूज

फागुन २५, २०७९ काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन् । 
 
प्रथम राष्ट्रपतिको उमेदवारी अस्वीकार गरेका पौडेल चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन् । 
 
पौडेको आकांक्षा थियो – पार्टी र देशको कार्यकारी भएर भूमिका निर्वाह गर्ने ।  त्यसकै लागि उनले प्रथम राष्ट्रपतिको प्रस्ताव त्यागेका थिए । 
 
हुन त प्रथम राष्ट्रपति निर्वाचित हुने समय कांग्रेस उमेदवार निर्वचित हुने स्पष्ट आधार थिएन । 
 
तर, उनले राष्ट्रप्रमुखको भूमिकामा समेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हार्ने चुनाव नलड्ने बताए ।
 
आफ्नो सक्रिय राजनीतिक भूमिकाको आकांक्षा र  प्रजातन्त्रको आवश्यकता देखाएर उनले प्रथम राष्ट्रपतिको उमेदवार बन्न अस्वीकार गरेका थिए । 
 
१४औं महाधिवेशन अघिका दिनसम्म पनि पौडेलको रोजाइमा राष्ट्रपति होइन प्रधानमन्त्री नै थियो । 
 
कतिसम्म भने गत मंसिर–४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा समेत पौडेलले आफू प्रधानमन्त्री बन्ने भनेर नै भोट मागेका थिए । 
 
कुराकानीमा पनि पौडेलले आफू राष्ट्रपति बनेर राजनीतिबाट बिश्राम लिने पक्षमा नरहेको भन्दै ‘प्रथम राष्ट्रपति’ बन्न आएको प्रस्ताव आफूले अस्वीकार गरेको बताएका थिए । 
 
“मलाई गिरिजाबाबुले प्रथम राष्ट्रपति बन्नुस् रामचन्द्रजी भन्नुभएको हो । मैले त्यसबेला नै म बन्दिन भनेको हुँ,” पौडेलले भनेका थिए, “प्रजातन्त्रको लडाइँ अझै सकिएको छैन गिरिजाबाबु म फिल्डमै बसेर यो लडाइँ लड्न चाहन्छु भनेपछि गिरिजाबाबु सहमत हुनुभयो ।” 
 
गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका विश्लेषक पुरञ्जन आचार्यका अनुसार कोइरालाले पहिलो प्रस्ताव नै रामचन्द्र पौडेललाई राखेका थिए । 
 
“पहिलो इच्छा त गिपरजाबाबुको नै थियो । तर, उहाँलाई माओवादीले धोका दिएपछि पार्टीभित्रबाट विकल्पको खोजी भयो । उहाँले पहिलो प्रस्ताव रामचन्द्रजीलाई नै राख्नुभएको थियो,” आचार्यले त्यसबेलाको स्मरण गर्दै भने, “रामचन्द्रजी तयार हुनुभएन । त्यसपछि रामशरणजी, भिमबहादुर तामाङ्जी अरुको पनि प्रस्ताव आएको थियो । शेरबहादुरजी त चुनाव लड्न तयार भइसक्नुभएको थियो ।” 
 
उनले आमोदप्रसाद उपाध्यायले संसदको संरचना बुझाएर डा. रामवरण यादव उपयुक्त हुने सुझाव दिएपछि कोइरालाले यादवलाई उमेदवार बनाएका थिए । 
 
“शेरबहादुरजी त उमेदवार बन्न नागरिकता नै बोकेर तयार भइसक्नुभएको थियो । तर, संसदमा ८४ सिट मधेसकेन्द्रित दलहरुसँग थियो । त्यसमध्ये ५० प्रतिशत बढी यादव भएको कुरा आमोदजीले गिरिजाबाबुलाई बताएर उहाँले नै रामवरण यादवको नाम लिनुभएको थियो,” आचार्यले भने, “त्यसपछि गिरिजाबाबुले डा. रामबरणजीलाई अघि सार्नुभयो । र, परिणाम पनि कांग्रेसकै पक्षमा हात लाग्यो ।” बाह्रखरीबाट