उपराष्ट्रपतिमा सत्ता गठबन्धनकै दलबाट ३ जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य
-आस्था न्यूज
फागुन २७, २०७९ काठमाडौं ।
जनमत पार्टीबाट सप्तरी जिल्ला इन्चार्जसमेत रहेकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर झाले उम्मेदवारी दर्ता गरेकी हुन् ।
यसअघि सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाएको हो ।
नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन् ।
निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।