माघमा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-आस्था न्यूज
फागुन २८, २०७९ काठमाडौं ।
नेपालमा पछिल्लो माघ महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
चालु आर्थिक वर्षको ७ महिना (साउन-माघ)सम्म भने यस्तो रकम ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले बढेर ६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (स्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ जना पुगेका छन् ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २६५.९ प्रतिशतले बढेको थियो ।