मौसम अनुकूल भए यस वर्ष आँप उत्पादन बढ्ने अनुमान

फाल्गुण २९,२०७९

-आस्था न्यूज

फागुन २९, २०७९ काठमाडौं । 
हाल मौसममा देखिएको अनुकूलता तथा बढी मात्रमा आँपको रुखमा मञ्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ । 
 
जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९७० हेक्टर क्षेत्रफलमा आँप खेती गरेकोमा २२ हजार ७५० मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष आँपको क्षेत्रफल पनि बढेको, मौसम पनि अनुकुल रहेकोले यही अवस्था रहेमा यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने अनुमान रहेको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए । 
 
गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, बटेशर गाउँपालिका आँप उत्पादनको पोकेट क्षेत्र घोषणा गरिए पनि जिल्लाका अधिकांश ठाउँमा आँप उत्पादन हुने गरेको छ । 
 
जिल्लामा खास गरि, मालदह, बम्बै, दसहरि, मलिका, कलकतिया, अम्पालीलगायतका विकसित आँप उत्पादन हुने गरेको छ  र यहाँ उत्पादित आँप पोखरा वीरगञ्ज, काठमाडौं, नारायणघाट, बुटबल लगायतका ठाउँमा बिक्रीका लागि जाने गरेको किसानहरूको भनाइ छ ।