Trending :
 

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री पदमा पटक पटक दोहोरिन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड

फाल्गुण ३०,२०७९

-आस्था न्यूज

फागुन ३०, २०७९ काठमाडौं ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्न पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था उपयुक्त हुने उनको भनाइ थियो । 
 
नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाइसकेको हुने बताए । उनले सांसद, मन्त्री भइसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगतरुपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखे ।
 
‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्‍याएर शपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो । डा। रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक शपथ ग्रहण गर्नुभयो । र, अहिले आएर रामचन्द्र पौडेल हुनुभयो,ु महामन्त्री शर्माले भने, ुराजनीतिमा रुपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको शपथग्रहण गरोस् । तीन पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’
 
महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताए । महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताए ।
 
नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहरुको छनौट गर्न नहुने पनि उनको धारणा थियो । महामन्त्री शर्माले भने, ‘हामीले त्यसलाई एउटा राष्ट्रियरुपमा एउटा उत्पादनको दशक, उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रुपमा पनि आकर्षण गराउँछ । हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका प्रोजेक्ट बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ ।’