एक दिन पनि संसद् बैठकमा नबस्ने सांसद निष्काशित

चैत्र ०१,२०७९

-आस्था न्यूज

चैत १, २०७९ काठमाडौं ।
सेलेब्रिटीहरूको गसिपका विषयमा भिडियो बनाउने युट्युबरबाट सांसद बनेका जापानका एक नेतालाई एक दिन पनि बैठकमा उपस्थित नभएको भन्दै निष्काशन गरिएको छ । 
 
जापानको ७० वर्षभन्दा बढीको संसदीय अभ्यासमा निष्काशित हुने उनी पहिलो सांसद हुन् ।
 
गासी भनेर चिनिने योशिकाजु हिगाशितानीलाई मार्च महिनाको आरम्भमा अनुपस्थितिका लागि माफी माग्न निर्देशन दिइएको थियो । 
 
तर सेइजिका जोशी ४८ नामक सानो दलका सांसद हिगाशितानी त्यस संसदीय सत्रमा पनि उपस्थित भएनन् । 
 
सन् २०२२ को जुलाई महिनामा भएको निर्वाचनपछि हिगाशितानीले एकपटक पनि हाउस अफ काउन्सिलर्समा पाइला राखेका छैनन् । 
 
उनी दुबईमा रहेको आफ्नो घरमा बसिरहेका छन् । जापान आउँदा आफू पक्राउ पर्ने भएकाले नआएको उनको जिकिर छ । जापानमा उनीविरुद्ध मानहानिको मुद्दा चलिरहेको खबर छ । 
 
जापानी संसद्को माथिल्लो सदनले मंगलवार उनलाई निष्काशन गर्ने निर्णय लिएको हो । 
 
बुधवार उक्त निष्काशनलाई आधिकारिक बनाइएको हो । उनकै दलका अर्का सदस्यलाई सांसद बनाइने भएको हो । एजेन्सी