राप्रपा उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने

चैत्र ०१,२०७९

-आस्था न्यूज

चैत्र १, २०७९ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो । 
 
बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने सरकारी निर्णयको विरोध समेत गरेको छ । मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय रअनुचित रहेको राप्रपाको ठहर छ । ‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
 
रासायनिक मल सम्बन्धमा पार्टीका ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । 
 
राप्रपाले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।