सरकारले खाडी र मलेसियाको दुईवर्षे श्रम स्वीकृति हटायो, सम्बन्धित दूतावासबाटै पुनःश्रमस्वीकृति लिनुपर्ने

चैत्र ०१,२०७९

-आस्था न्यूज

चैत्र १, २०७९ काठमाडौं ।
सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोपमा तोकिएको दुई वर्षे करारपत्रलाई बिहीबारबाट हटाएको छ । साथै नेपाली दूतावासबाट नै पुनःश्रमस्वीकृति जारी गर्ने निर्णय भएको छ ।
 
श्रम मन्त्रालयको समेत जिम्मेवारी बोकेका प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षे करारपत्रलाई हटाएका हुन् । ‘हामीले दुई वर्षे करारपत्रको आधारमा श्रम स्वीकृति जारी गर्दै आएका थियौं । अब यो प्रावधान हटेको छ । रोजगारदाता र कामदारबीच हुने करारपत्रको आधारमा श्रम स्वीकृति जारी हुनेछ,’ श्रम सचिव एकनारायण अर्यालले भने ।
 
श्रम मन्त्रालयका अनुसार यो प्रावधान राहत तथा उद्धारसँग सम्बन्धित छ । खाडी तथा मलेसियामा नेपाल सरकारले दुई वर्षे करारपत्रमा श्रम स्वीकृति जारी गर्दैै आएको थियो । दुई वर्षे करारपत्र पूरा भएपछि पुनः श्रमस्वीकृति गर्नुपर्ने बाध्यकारी प्रावधान थियो ।
 
मलेसियाको श्रम सम्झौता हुनुभन्दा अगाडि मलेसियामा तीन वर्षे करारपत्रमा श्रमस्वीकृति जारी हुन्थ्यो । श्रम सम्झौतापछि दुई वर्षमा सीमित गराएपछि मलेसियाका रोजगारदाताहरुले अन्य देशबाट कामदार लिन थालेको व्यवसायीहरुको भनाइ छ । दक्षिण कोरियाको लागि चार वर्षे करारपत्रमा कामदार जाने गरेका छन् । इजरायलमा भने ५ वर्षे करारपत्र लिई जाने प्रावधान छ ।
 
सचिव अर्यालले रोजगारदाता र कम्पनीबीच करारपत्रको अवधि तोकिए पनि कामदारले पाउनुपर्ने सेवा सुविधा भने सम्बन्धित देशको श्रम कानुन अनुसार नै पाउने बताए ।
 
यस्तै श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रमस्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेको छ । अब कामदारले बिमा र कल्याणकारी कोषको रकम तिरेपछि दूतावासबाट नै पुनःश्रमस्वीकृति लिन पाउने बाटो खुलेको सचिव अर्यालले बताए ।
 
श्रमस्वीकृतिको अवधि समाप्त भएपछि मृत्यु, अंगभंग वा बिरामी भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ । यसलाई सम्बोधन गर्न दूतावासबाटै नै पुनःश्रमस्वीकृति दिने व्यवस्था मिलाइएको अर्यालले बताए । कान्तिपुरबाट