वर्तमान सरकारले शान्ति प्रक्रियालाई अविलम्ब निष्कर्षमा पुर्याउने प्रधानमन्त्रीको भनाई
-आस्था न्यूज
चैत ६, २०७९ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियालाई अविलम्ब टुंग्याउन चाहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले विविध कारणले गर्दा अहिलेसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने काम नभएको भन्दै अब यसलाई निष्कर्षमा पुर्याउने बताएका हुन् ।
‘विविध कारणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम भएको छैन । वर्तमान सरकार अविलम्ब यो प्रक्रिया टुंग्याउन चाहन्छ’, प्रधानमन्त्रीले भने, ‘सोही अनूरुप अन्तराष्ट्रिय मानवअिधकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्यता र सिद्धान्त, पीडित सरोकारवालाका सुझाव र सर्वोच्च अदालतको आदेशका आधारमा वेपत्ता पारिएका
व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक तयार गरी संसदमा पेश गरिसकिएको छ ।’ उनले संक्रमणकालीन न्यायसम्बन्धी विषय कुनै दल विशेषको मुद्दा नभएको भन्दै यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।