नेपाली दम्पतीले जन्माए एकै पटक चार सन्तान !

चैत्र ०८,२०७९

-आस्था न्यूज

चैत्र ८, २०७९ काठमाडौं ।
अष्ट्रेलिया बस्ने एक नेपाली दम्पतीले चम्ल्याहा सन्तानलाई जन्म दिएका छन् । 
 
अस्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४४ वर्षीया अरुणा सिंहले तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेश सिंहले जानकारी दिए । 
 
प्रसूतिको मितिभन्दा एघार हप्ता अगाडि जन्मिएका उनीहरूलाई  अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ ।
 
लामो समयदेखि सन्तान हुन नसकेका सिंह दम्पतीले एक वर्षअघि नेपाल आएर नर्भिक आईभीएफ सेन्टरमा १४ हप्तासम्म उपचार गराएको नर्भिक आईभीएफ सेन्टरले जनाएको छ । अरुणा र ४७ वर्षीय योगेशको नर्भिक आईभीएफको उपचारपछि पहिलो प्रयासमा नै सन्तान भएको हो । 
 
अस्ट्रेलियामा चम्ल्याह सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ । अस्पतालका अनुसार पछिल्लो चार वर्षमा सो अस्पतालमा जन्मिने बच्चाहरूमध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो ।