Trending :
 

देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको अवस्थामा पाएः गगन थापा

चैत्र ०९,२०७९

-आस्था न्यूज

चेत ९, २०७९ काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको अवस्थामा रहेको बताएका छन् । उनले युवाहरूले देशमा केही हुँदैछ, देशमै राम्रो भविष्य छ भनेर विश्वास गर्न नसकिरहेको भन्दै थापाले चिन्ता व्यक्त गरे ।
 
बिहीबार सामुदायिक रेडियो प्रशारक संघको १७ औँ साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले युवा पुस्तामा आशाको सञ्चार गर्न समयको महत्त्वलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।
 
‘हाम्रो देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन, सबै भाग्न मात्रै चाहन्छन् । हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदैछ भनेर कसैले आश गर्न सकिरहेको छैन,’ उनले भने, ‘मान्छेले राजनीतिक दाउपेचका समाचार सुनेर खुसी हुने अवस्था छैन । 
 
वास्तवमा अवस्था त्यति धेरै बिग्रिएको पनि होइन, त्यसैले मान्छेले घरमा सुत्दै गर्दा देशमा केही न केही त राम्रो हुँदैछ भनेर आशा राखेर सुत्न पाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूको भूमिका होस् ।
 
उनले आफूले अहिलेजस्तो तन्नेरीहरू आत्तिएको कहिल्यै पनि नदेखेको बताए । मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै पनि देखेको थिएन । मैले कसैलाई पनि अत्याउन खोजेको होइन, तर मैले काम गर्दा जे अनुभूति गरिरहेको छु, त्यो भन्दैछु कि अहिले मुलुकको भविष्य ठानिएको तन्नेरी पुस्ता बेस्सरी आत्तिएको छ, उनले भने ।
 
उनले सरकारले हिजोभन्दा आज राम्रो हुँदैछ भनेर नागरिकमा आशाको सञ्चार गर्न सक्नुपर्ने बताए । ‘वास्तवमा अहिले तन्नेरीहरू आत्तिनुपर्ने बेला होइन, डराउनुपर्ने, आत्तिनुपर्ने प्रधानमन्त्रीले हो, सरकारले हो,’ उनले भने, ‘वास्तवमा यो प्रधानमन्त्री डराउने बेला हो । 
 
मैले त प्रधानमन्त्रीजीलाई भनेको पनि छु कि तपाईंहरू केही समय लिएर सोच्नुहोस्, वरिपरिको गणित मात्रै हेर्नुभयो भने सिंगै देश डराउनुपर्ने स्थिति हुन्छ । तर बेलैमा डराइदिनुभयो भने नागरिकको डर भाग्छ ।