Trending :
 

भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई

चैत्र ०९,२०७९

-आस्था न्यूज

चेत ९, २०७९ काठमाडौं ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । 
 
एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन इफाप्का र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रुपमा बिहीबार राजधानीमा गरेको अन्तर्क्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखे ।
 
पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । 
 
‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गरे। 
 
निर्माणमैत्री ऐन कानून नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै उनले समय सापेक्ष ऐन कानून बनाउन नेपाल निर्माण व्यवसायी महासंघ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।
 
भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
 
इफाप्का समेत अध्यक्ष रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरि नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए । 
 
कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपाल जस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठीन भएको अध्यक्ष सिंहले बताए ।
 
इफाप्काका महासचिव पनि रहेका नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार वीरेन्द्र राज पाण्डेले इफाप्काको उद्देश्यमाथि प्रस्ट पार्दै ४६ औं इफाप्का सम्मेलन आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी दिए ।