बिचल्लीमा परेको चर्चित कलाकार स्वर्गीय बीएस राणाको जेठी छोरी नन्दनीले पाईन नागरिकता

सांसद मन्जु खाडको बिशेष पहलमा भयो सम्भव :

चैत्र ०९,२०७९

-आस्था न्युज

चैत्र ९, २०७९ काठमाडौं । 

असहाय र बेसहारा भई बिचल्लीमा परेको  चर्चित  कलाकार स्वर्गीय  बीएस राणाको जेठी छोरी नन्दनी (निना ) राणाले अन्ततः नागरिकता प्राप्त गरेकी छिन् । नेपाल स्नेही काख नामक सँस्थाको पहलमा नन्दनिले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपाली नगरिकता प्राप्त गरेकी हुन् । 

 

आर्थिक अवस्था अत्यन्त दयनिय बनेको, आमा र बहिनीको मानसिक अवस्था ठिक नभएको कारण आफ्नो पहिचान समेत गुमाएकी नन्दनीले बिहिबार आफ्नो पहिचान सहितको नेपाली नागरिकता प्राप्त गरेकी छिन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता प्राप्त गर्दा उनी भाबुक र हर्षितको मिश्रित रुपमा देखिएकी थिईन ।

 

संस्थाकी संचालिका अध्यक्ष श्रीनेहा पोखरेल, रमिला पोखरेल, केशव प्रसाद रिजाल सहितको टिमले नन्दनिको उपचार समेत गरी निजको पहिचान खोज्ने क्रममा लामो प्रयास पछि स्वर्गीय बीएस राणा र श्रीमती हनी राणाको नागरिकता पत्ता लगाउन सफल भएको थियो । त्यसलाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नन्दनिको नागरिकताको लागि पहल गर्दै आएको थियो ।

 

निजको नागरिकता प्राप्तिका लागि सांसद मन्जु खाडले  बिशेष पहल गर्नुका साथै चलचित्र विकास बोर्ड र चलचित्र कलाकार संघका पदाधिकारीहरुले पनि सहयोगी भूमिका निर्वाहा गरेको अध्यक्ष श्रीनेहा पोखरेलले बताईन ।

 

“नन्दनिलाई पहिचान सहितको नागरिकता प्राप्त गराउन सफल भएका छौं । अब उहाको बैंक खाता खोलि प्राप्त सहयोग उहाकै नाममा बैंकमा जम्मा गर्ने व्यवस्था मिलाउनुका साथै केहि सिप सिकाई कुनै जागिरमा लगाईदिने वा कुनै आयश्रोतको बाटो पहिल्याउन पाए अलि सहज हुन्थ्यो जस्तो लागेको छ र यसका लागि पहल गर्नेछु, सहयोग गर्ने माननीय मन्जु खाड, मोहन निरौला, बसुन्धरा भुसाल, सबिन श्रेष्ठ, रामेश्वर बुर्लाकोटी,  पवित्रा आचार्य लगायत सबैलाई धन्यवाद पनि दिन चाहान्छु ’’ पोखरेलले प्रतिक्रिया दिदै भनिन् ।

 

नेपाल स्नेही काखले स्वर्गीय बीएस राणाको तिनै जना परिवारलाई गत महिना उद्धार गरी ल्याएको थियो । अहिले  स्नेही काखले बीएस राणाको श्रीमतीको उपचार गराई रहेको छ  साथै दुवै छोरीको उपचार गर्दै आश्रय  समेत प्रदान गरिरहेको छ ।

 

कलाकार स्वर्गीय बीएस राणाको श्रीमती र कान्छी छोरीको मानसिक स्वास्थ्य बिग्रिएको र जेठी छोरीको पनि स्वास्थमा समस्या रहेको अवस्थामा बिचल्लीमा परेको कारण निजहरुलाई ललितपुरको नेपाल स्नेही काख नामक सँस्थाले काठमाडौँ को गोलढुंगाबाट उद्धार गरेको थियो ।

 

उतार चडाब जीवनको नियति  हो । तर त्यहि नियति  यति सम्म पनि  निर्दयी हुन् सक्छ भन्ने कुरा नेपाली चलचित्रका सफल चर्चित कलाकार स्वर्गीय  बेदेन्द्र शम्सेर राणा (बीएस राणा )को जीवननीलाई हेरेर बुझ्न र देख्न सक्छौ  ।  कुनै समय शाही शान र मानका साथमा जीवन व्यतित गरेका बीएस राणा जीवनको पूर्वार्धमा भने  दयनीय अवस्थामा आफ्नो इहलीला त्याग गर्न पर्यो   ।  

 

श्रीमती र  तिन छोरीका बाबु राणाको  आर्थिक रुपमा दयनीय अवस्थामा  मृत्यु भएपछि गरीबी र पीडाको उत्कर्षमा उनको परिवारहरु गुज्रनु पर्यो ।  जसका कारण हाल उनका श्रीमती र छोरी मानसिक सन्तुलन गुमाउन पुगेका छन्  ।   एक मात्र छोराको मृत्य भएको केहि समय पछि राणाको शिक्षण अस्पताल महाराजगन्जमा  सन् २०१९ मा ७९ बर्षको उमेरमा मृत्य भएको थियो ।   

 

करिव ३० बर्ष बेलायतमा बसेका राणाले नेपाली चलचित्रहरु  दक्षिणा , कोसेली , चिनो, दुई थोपा आसु , जीवन संघर्ष , करोडपति , नेपाली बाबु , बसन्ती , सेतो बाघ लगायत दर्जनौ सफल चलचित्रमा अभिनय गरेका थिए ।   राणा बिश्व प्रख्यात शेक्सपियरको नाटकमा समेत अभिनय गरेका थिए ।   उनले बि.सं. २०४१ सालमा पहिलो फिल्म खेलेका थिए ।  

 

यस घटनाले जस्तो सुकै मानिसको  जीवनमा सफलता र असफलता आउन सक्छ र जो पनि मानसिक रोगि बन्न सक्छ भन्ने कुरा बुझ्न सकिन्छ ।  त्यसैले समयमा नै यसको रोकथाम र उपचारमा लाग्न र रोगलाई लुकाउन नहुने कुराको जनचेतना फैलाउन जरुरि देखिन्छ ।  साथै हाम्रो समाज  र राष्ट्रले कलाकारको भूमिकालाई कस्तो सम्मान र दृष्ट्रिकोण राखेको छ प्रष्ट हुन्छ । 

 

 यस्ता कयौ मानसिक रोगीको उद्धार र उपचारमा अहोरात्र खटिएकी श्रीनेहा पोखरेल, रमिला पोखरेल, केशव प्रसाद रिजाल  लगायतको टिम र  उनीहरुको  नेपाल स्नेही काख संस्थालाई सबैले सहयोग र सहकार्य गर्न जरुरी देखिन्छ ।