पहिचानको अधिकार माग्दा हत्याको शृंखला भोग्नपर्ने भन्दै सरकारको आलोचना

संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने क्रममा ५९ जनाको हत्या:

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं।
जनता समाजवादी पार्टीका नेता अशोक राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्नेहरुको हत्याको शृंखला नरोकिएको बताएका छन् ।
 
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको भन्दै अहिले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा पनि शृंखला जारी रहेको बताए ।
 
‘यस किसिमका दुखद घटनाहरुको शृंखलाहरुको अन्त कहिँ पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम मधेश जनविद्रोहमा ५९ जनाको निधन भएको थियो’ नेता राईले भने, ‘हामीले लोकतान्त्रिक परिपाटी संघीयता गणतन्त्र स्थापित गरेका छौं । तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको कडी थपिन गएको छ । यो निन्दनीय छ ।’
 
कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले गरेको आन्दोलनका क्रममा १० चैतमा पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।