लुम्बिनीमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश
-आस्था न्यूज
चैत १२, २०७९ काठमाडौं।
लुम्बिनीमा लीला गिरी नेतृत्वको सरकारमा सहभागी राजनीतिक दलहरूले सरकारबाट हटेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्।
सरकारमा सहभागी ६ राजनीतिक दलले राजीनामा बुझाएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष ५३ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको लागि निवेदन पेश गरेका हुन् ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई आइतबार कांग्रेससहित दलहरूले निवेदन दिएका हुन् ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आइतबार नै नयाँ गठबन्धनअनुसार मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया शुरू गर्ने बताए ।
गिरी नेतृत्वको सरकार अल्पमतमा परेको निश्चित भएपछि राजीनामा दिन उपयुक्त हुने सुझाव आफूहरूले दिएको उनले बताए ।
लुम्बिनीमा कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत र लोसपाका ३/३ राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ प्रदेशसभा सदस्य छन् ।
सरकारमा सहभागी राप्रपाले भने राजीनामा दिएको छैन ।