ट्रेजरी बिल मार्फत् सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँने

चैत्र १३,२०७९

-आस्था न्यूज

चैत्र १३, २०७९ काठमाडौं ।
सरकारले २२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो । 
 
जसअनुसार १७ अर्ब १० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।
 
ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । सरकारले गत बुधबार पनि ट्रेजरी बिलमार्फत पौने २४ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरेको थियो । पछिल्लो पटकको बोलकबोलमा ९.५९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंकले सबैभन्दा बढी १०.७४ प्रतिशत र सबैभन्दा कम ९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
 
सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो ।
 
सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । 
 
दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ ।