गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या केहि दिनमा समाधान हुने प्रधानमन्त्रीको आश्वासन

चैत्र १६,२०७९

-आस्था न्यूज

चैत १६, २०७९ काठमाडौं ।
प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् । 
 
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको एक वा दुई हप्तामा समस्या समाधान हुने आश्वासन दिएका हुन् । 
 
धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो । महानगर प्रमुख रेणु दाहाल हुन् । उनी प्रधानमन्त्री प्रचण्डकी पुत्री हुन् । 
 
बिहीबार महानगर प्रमुख रेणुसमेत सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रङ्गशालाको समस्या समाधान गरेर निर्माण प्रक्रिया अघि बढाउने वचन दिएका हुन् । 
 
उक्त रङ्गशाला निर्माणका क्रममा सामान ल्याएको उधारो र ऋण करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ ।