राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा उपचुनावको लागि उम्मेदवारको नाम सार्वजनिक

चैत्र १७,२०७९

-आस्था न्यूज

चैत १७, २०७९ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखको उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
 
रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ। उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन्। त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् ।
 
त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ। चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।
 
राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ। यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।
 
यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहिँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ ।