नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी

चैत्र १७,२०७९

-आस्था न्यूज

चैत १७, २०७९ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गर्दै श्रेष्ठलाई गृहको जिम्मेवारी दिएका हुन् । 
 
श्रेष्ठ यसअघि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री दाहालले आफैंसँग राख्दै आएका थिए ।
 
श्रेष्ठ यसअघि पनि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् । २०४० को दशकदेखि नेपाली राजनीतिमा सक्रिय रहेका श्रेष्ठ तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी र आन्दोलनरत ७ राजनीतिक दलबीच १२ बुँदे सहमति गराउने सूत्रधारसमेत हुन् । तत्कालीन नेकपा एकता केन्द्रका महासचिवसमेत रहेका श्रेष्ठले माओवादीसँगको एकीकरणपछि पनि पटक(पटक महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् ।