तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

चैत्र १८,२०७९

-आस्था न्यूज

चैत १८, २०७९ काठमाडौं। 
नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ ।
 
आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
 
पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
 
‘बारा-२ को राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइने गुरुङले बताए ।
 
तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् । यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए ।
 
खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
 
चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।
 
न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।
 
एमाले विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएर २०५३ सालदेखि नै पूर्णकालीन भएका न्यौपाने युवा नेता मानिन्छ ।