सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइजले जित्यो, १० लाख नगद र ट्रफी पुरस्कार

चैत्र १९,२०७९

-आस्था न्यूज

चैत १९, २०७९ काठमाडौं ।
चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो सहभागितामै १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।
 
शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० ले स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेडले उपाधि हात पारेको हो ।
 
उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पार्‍यो भने उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँमा चित बुझायो ।
 
चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे ।
 
खेलको सुरुआतमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थकमाझ जीतका लागि अन्तिमसम्म संघर्ष गरेको थियो ।
 
खेलको छैठौं मिनेटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए । दश खेलाडीमा सीमित बनेर पनि चर्च ब्वाइजलाई शेर्पाले पहिलो हाफको अन्तिमसम्म चुनौती दिएको थियो ।
 
तर, खेलको ३५औं मिनेटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जीत दिलाए ।
 
विधागत पुरस्कारतर्फ पनि जीतपुर सिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रहृयो ।
 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरे ।
 
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका यूएस प्रिसो, डिफेण्डर फ्रयांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं घोषित भए उनीहरूले समान २० हजार नगद प्राप्त गरे ।
 
प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित भए । उनले २० हजार प्राप्त गरे ।
 
सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए । उनले २० हजार नगद प्राप्त गरे ।
 
प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए । उनले नगद १५ हहजार प्राप्त गरे ।
 
अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर-११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्रयांकलीन टाला घोषित भएका थिए ।