राष्ट्र बैंकद्धारा १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान
-आस्था न्यूज
चैत २०, २०७९ काठमाडौं।
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान गरेको छ । विकास ऋणपत्र २०८५ छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष रहेको छ । राष्ट्र बैंकले आज सोमबार जारी गरेको सूचना अनुसार ऋणपत्रका लागि मंगलबार बोलकबोल दिनु पर्नेछ ।
बुधबार ऋणपत्र निस्कासन गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्रमा ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले लगानी गर्न पाउँछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिनरदिन पाइन्छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निस्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० अर्ब र १ अर्ब ५ करोड छुट्याइएको छ ।
यस्तै, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने सूचनामा उल्लेख छ ।