Trending :
 

नेकपा एमालेका चार जना मन्त्रीले मधेस प्रदेश छोडे

चैत्र २१,२०७९

-आस्था न्यूज

चैत २१, २०७९ काठमाडौं ।
नेकपा एमालेका चार जना मन्त्रीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार अपराह्न राजीनामा बुझाएका छन् । मन्त्रीबाट राजीनामा गर्न मुख्यमन्त्री यादवले आग्रह गरेपछि उनीहरुले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
 
यससँगै एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार राति मुख्यमन्त्री यादवले एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई फोन गरेर सरकारबाट राजीनामाका लागि आग्रह गरेका थिए ।
 
संघीय सरकारमा गठबन्धन फेरिएलगत्तै मधेस सरकारबाट पनि एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेशको संसदीय दलको मंगलबार बसेको बैठकले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यही निर्णयको आधारमा एमालेका चारै जना मन्त्रीले मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् । 
 
मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई मंगलबार अपराह्नसम्म राजीनामा बुझाउन भनेका थिए । मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री थिए । उनीहरूले राजीनामा नगरे मुख्यमन्त्री यादव उनीहरूलाई पदमुक्त गर्ने तयारीमा थिए ।
 
एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, शत्रुधन प्रसाख सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए ।