Trending :
 

फिनल्यान्ड नेटोको ३१ औँ सदस्य बन्यो

चैत्र २२,२०७९

-आस्था न्यूज

चैत २२, २०७९ काठमाडौं । 
फिनल्यान्ड मङ्गलवार उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो को ३१ औँ सदस्य बनेको छ । फिनल्यान्डलाई औपचारिकरूपमा नेटोमा सामेल गराउनका लागि नेटो मुख्यालय रहेको बेल्जियमको ब्रसेल्समा विशेष बैठक बसेको थियो । 
 
फिनल्यान्डले यसअघि असंलग्नताको नीति लिए पनि छिमेकी देश रुसले युक्रेनमा आक्रमण गरेर देश नै कब्जा गर्न लागेको भन्दै सुरक्षाका लागि नेटोमा संलग्न हुने निर्णय गरेको थियो । नेटोका कुनै पनि देशमा आक्रमण भएमा सबै सदस्य देशले आफैँलाई आक्रमण गरेको ठानेर सामूहिक प्रतिउत्तर दिने भएकाले नेटो सदस्यले सुरक्षित महसुस गर्छन् ।
 
फिनल्यान्ड नेटोको सदस्य हुनुलाई पश्चिमा देशले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई झट्काको रूपमा व्याख्या गरेका छन् । रुस र फिनल्यान्डबीच १३ सय ४० किलोमिटर लामो सीमा रहेको छ । रुसले बारम्बार नेटोको सदस्य नबन्न चेतावनी दिए पनि फिनल्यान्ड सदस्य बनेको हो ।
 
कुनै पनि देश नेटोको सदस्य बन्नका लागि सबै सदस्य देशको सहमति चाहिन्छ । फिनल्यान्डलाई सदस्य बन्न नदिन यसअघि टर्कीले लिएको अडान त्यागेपछि फिनल्यान्ड बल्ल सदस्य बन्न सफल भएको हो ।