सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सभामुख र शिर्ष नेताहरुबीच छलफल
-आस्था न्यूज
चैत २५, २०७९ काठमाडौं ।
संसदमा विचाराधीन टीआरसी लगायतका विधेयकबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सम्वाद भएको छ ।
सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर छलफल गरेका हुन्।
सिंहरदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संसदमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अगाडि बढाउन सकारात्मक कुराकानी भएको नेताहरुले बताएका छन् ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले सदनभित्रको टीआरसी, संवैधानिक परिषद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भन्ने कुरामा गम्भीर छलफल भएका बताएका छन् ।
सहमति बनाउने भन्नेमा सैद्धान्तिक रुपमा सहमत भए पनि कानुनी र प्रविधिक पक्ष पनि रहेको उनले बताए । संसदको कार्यसञ्चालन नियमावली पास भइसकेकाले त्यसअनुसार समिति बनाउनुपर्ने भन्दै उनले केही एक्पर्ट साथीहरु समेत बसेर टुंग्याउने भन्ने कुरा भएको उल्लेख गरे ।
विशेष समिति बनाएर मध्यमार्गी बाटो खोज्ने सम्भावना पनि रहेको उनले सुनाए ।
छलफलपछि एमाले अध्यक्ष ओलीले पनि सदनलाई कसरी प्रभावकरी ढंगले अगाडि बढाउने र अहिले देखिएका समस्याहरु कसरी समाधान गर्ने भनेर सकारात्मक छलफल भएको बताए ।