संक्रमण बढेसँगै काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको भिड बढ्दै
-आस्था न्यूज
वैशाख ३, २०८० काठमाडौं ।
कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्न थालेको छ।
पछिल्लो केही सातादेखि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ। कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड(१९ विरुद्धको खोप गाउनेहरुको उपस्थिति बाक्लिएको हो। केही दिन यता नेपालमा दैनिक १०० को हाराहारीमा संक्रमितहरु बढिरहेका छन्।
यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा शेरबहादुर पुनले बताए।
कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको डा पुनले बताए। नेपालमा अहिले ९ वटा बभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको पुनले जानकारी दिए।
डा पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी।१।१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे। उनले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए।
अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन्। अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ।
‘पछिल्लो समय कोरोना संक्रमित बढीरहेको देखिन्छ। केही हप्ताको तुलनामा र औषतमा झन्डै १०० को हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ। केही व्यक्तिको मृत्यु भएको पनि छ,’ डा पुनले भने, ‘कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ। जुन नेपालमा ९ वटा सबभेरियन्टहरु अहिले रहेको छ। आदि भन्दा बढी नयाँ नै देखिन्छ। एक्सबीबी।वान।१६ मुख्य मानिएको छ कोरोना फैल्याउन।’
डा पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे। उनले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए।