चीनले केही वर्षभित्र चन्द्रमामा घर बनाउने
-आस्था न्यूज
बैशाख ५, २०८० काठमाडौं ।
विश्वशक्ति राष्ट्र चीनले छिटै नै चन्द्रमामा आफ्नो आधार शिविर बनाउने भएको छ । चन्द्रमामा आगामी केही वर्षमा भवनहरु बन्न थाल्ने र त्यसको निर्माणको योजना बनाउने तयारी सुरु गरिसकेको छ ।
आगामी ५ वर्षभित्रमा चन्द्रमाको माटो नै प्रयोग गरेर लुनार बेस अर्थात् चन्द्र आधार शिविर बनाउने योजना चीनको छ ।
चिनियाँ सञ्चार माध्यमका अनुसार १ सयभन्दा धेरै चिनियाँ वैज्ञानिक, शोधकर्ता तथा अन्तरीक्ष कन्ट्रयाक्टरहरुको सहभागितामा हालै चीनको वुहानमा एक सम्मेलनको आयोजना भयो । त्यसमा आगामी अन्तरीक्ष मिसनहरुका बारेमा जानकारी दिइएको थियो । साथै चन्द्रमामा भौतिक पूर्वाधार खडा गर्ने तरिकाहरुका बारेमा पनि चर्चा भयो ।
चाइनिज एकेडेमी अफ इन्जिनियरिंगका विशेषज्ञ डिंग लियुनका अनुसार वैज्ञानिकहरुको एक टोलीले चन्द्रमाको माटोबाट इँटा बनाउनका लागि चाइनिज सुपर मेसन्स नामको एक रोबोटको डिजाइन गरिरहेको चांगजियांग डेलीले जनाएको छ ।
तथापि यति छोटो समयमा उक्त लक्ष्य प्राप्त गर्न कठीन हुनेछ । चन्द्रमामा पानी नहुनु, गुरुत्वाकर्षण कम हुन, चन्द्रमामा पटक पटक भूकम्प आउनु तथा भयानक कस्मिक विकीरण हुनु प्रमुख चुनौति हुनेछन् । तर लामो समयसम्म चन्द्रमामा अन्वेषण गर्नका लागि चन्द्रमामा वस्ती हुनु आवश्यक रहेको र भविष्यमा यसको अनुभूति हुने डिंग बताउँछन् ।
डिंगका अनुसार चन्द्रमाको माटोबाट इँटा बनाउन रोबोट सन् २०२८ सम्ममा चीनको चांगी ८ मिसनका क्रममा लञ्च गरिनेछ । पहिलो इँटा चन्द्रमाको इँटाबाट चन्द्रमामै बनाइने उनको भनाइ छ ।