भारतमा अत्यधिक गर्मी बढेपछि लु को चेतावनी, खुकुलो कपडा लगाउन र टाउको छोप्न निर्देशन

बैशाख ०६,२०८०

-आस्था न्यूज

बैशाख ६, २०८० काठमाडौं ।
भारतमा गर्मी अत्यधिक बढ्न थालेको छ । गर्मी बढ्न थालेसँगै लू र बेहोशीको जोखिम बढेको छ । भारतका लाखौं मानिस गर्मीका कारण हुने थकान र घातक स्ट्रोकको खतरामा छन् । 
 
भारतको मौसम विभागले हरियाणा, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उडिसामा लूको चेतावनी जारी गरेको छ । 
 
अघिल्ला वर्षहरूको भन्दा बढी गर्मी यसपालि हुने समभावना देखिएको छ । सन् २०२२ मा आएको लूका कारण धेरै मानिसहरू पीडामा परेका थिए अनि गहुँको विश्वव्यापी आपूर्तिमा असर परेको थियो । अहिले पोहोरको भन्दा बढी गर्मी हुने प्रक्षेपण गरिएको छ । 
 
मानिसहरूले एसी र फ्यान अत्यधिक चलाउनाले विद्युतीय आपूर्तिमा समस्या आउने चिन्ता पनि व्यक्त गरिएको छ । 
 
तातोसँग आर्द्रता पनि मिसिएमा खतरनाक मात्र नभई सांघातिक समेत हुन पुग्छ । भारतको १.४ अर्ब जनसंख्यामध्ये अधिकांश घरबाहिर काम गर्ने गर्छन् । उनीहरूलाई गर्मीबाट सुरक्षाको उचित प्रबन्ध हुने गर्दैन । 
 
निर्माण क्षेत्रका मजदूर, ठेलामा सामान बेच्ने, रिक्सा तान्ने लगायतका मानिस प्रत्येक गर्मीमा मर्ने गरेका छन् । उनीहरूसँग गर्मी भगाउने साधनको अभाव छ । 
 
गर्मीका कारण मजदूर गुमाउनुपर्ने स्थिति भारतमा जति विकराल अन्य कुनै देशमा पनि छैन । 
 
गत आइतवार मात्र ११ जना शरीरमा पानीको अभाव तथा हीट स्ट्रोकका कारण ज्यान गुमाउन बाध्य भएका थिए । महाराष्ट्र सरकारले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने क्रममा घन्टौंसम्म चर्को घाममा बस्दा उनीहरूको मृत्यु भएको थियो । 
 
लगातार पानी पिइरहनका लागि स्वास्थ्य अधिकारीहरूले मानिसलाई सचेत गराइरहेका छन् । घाममा ननिस्कन, हलुका कपडा लगाउन, सूतीको खुकुलो कपडा लगाउन र टाउको छोप्न निर्देशन दिइएको छ ।