Trending :
 

नेपाल-भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त बैठक गर्ने सरकारको निर्णय

बैशाख ०७,२०८०

-आस्था न्यूज

वैशाख ७, २०८० काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले नेपाल-भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूह (सहसचिवस्तर)को बैठक काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
 
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल(भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूह (सहसचिवस्तर) को चौथो बैठक आगामी बैशाख १२ मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो।
 
राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधिवक्ताहरूलाई स्वीकृति दिएको छ।
 
अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजिएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उप-महालेखापरीक्षक राममाया कुँवरलाई स्वीकृति प्रदान गरेको छ।
 
लेखापरीक्षणमा बोर्डको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गरेको छ। सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।
 
भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको छ। काठमाडौं(तराई(मधेस द्रूतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। काठमाडौं-तराई-मधेस द्रूतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गरेको छ।
 
सुनिगाड जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरू निर्माण गर्न बझाङ जिल्लाको जयपृथ्वी ११, सुर्मा गापा १ र तेलकोट गाउँपालिका १ र २ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने स्वीकृति दिएको छ।
 
त्यस्तै माथिल्लो रिचेत खोला जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गापा-१ र धार्चे गापा-६ मा रहेको राष्ट्रिय वन भित्रको २.७५ हेक्टर जग्गा तीस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिएको छ।