कोरिया जानेलाई हवाई भाडा महँगो लिएपछि सरकारले सोध्यो स्पष्टीकरण

बैशाख ०८,२०८०

-आस्था न्यूज

वैशाख ८, २०८० काठमाडौं।
 
सरकारले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई भाडा किन महँगो भएको भन्दै स्पष्टीकरण सोधेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत ईपीएस कोरिया शाखालाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधेर कोरिया जाने हवाई टिकट किन अत्यधिक महँगो भएको भन्दै जवाफ माग गरेका हुन् । 
 
ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत र  प्रतिव्यक्ति नाफा कति आउँछ? कति प्रतिशत बढाउन पाउने नियम छ ? लगायतका प्रश्न सोधिएको मन्त्री किराँतीले बताए ।  
 
त्यस्तै कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ कोरियन एयरलाइन्सले किन अत्याधिक भाडा लिएको त्यसको जवाफ समेत माग गरेका छन् । उक्त स्पष्टीकरणको लिखित जवाफ पेस गर्न भनेका हुन् । 
 
ईपीएसमार्फत कोरिया जाने नेपालीको हवाई भाडा अत्यधिक महँगो भयो भनेर बारम्बार प्रश्न उठ्दै आएको थियो । त्यसपछि भाडा घटाएर ८९५ अमेरिकी डलर बनाइएको थियो । त्यसअघि १२ सय अमेरिकी डलर भाडा लिँदै आएको थियो ।  नेपाल कोरिया सिधा हवाई उडान गर्नुपर्ने कोरियन सरकारको अडानका कारण हवाई भाडा महँगो हुँदै आएको ईपीएस कोरिया शाखाले जनाएको छ ।