Trending :
 

उपनिर्वाचन हुने बारा, चितवन र तनहुमा आइतबार सार्वजनिक बिदा

चितवनमा लामो दूरीका सवारी बाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक

बैशाख ०९,२०८०

-आस्था न्यूज

वैशाख ९, २०८० काठमाडौं ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
 
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
 
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।
 
त्यस्तै, चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि त्यस क्षेत्रमा स्थानीय रुटका सवारीसाधन आवागमन बन्द गरिएको छ ।
 
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
 
लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ ।
 
चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ ।
 
वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारीसाधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारी साधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।