२० भन्दा बढी जर्मन कूटनीतिज्ञलाई देश निकाला गर्ने रुसको घोषणा

बैशाख १०,२०८०

-आस्था न्यूज

वैशाख १०, २०८० काठमाडौं। 
रुसले २० भन्दा बढी जर्मन कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने घोषणा गरेको रुसी राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।
 
यसअघि बर्लिनले रुसी दूतावासका कर्मचारीलाई देशबाट सामूहिक रूपमा निकालेपछि मस्कोले सम्बन्ध बिगारेको आरोप लगाएको थियो ।
 
रुसी परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले शनिबार राज्य सञ्चालित टेलिभिजन ज्वेज्दालाई ‘२० भन्दा बढी’ जर्मन कूटनीतिज्ञले देश छोड्नुपर्ने बताएकी छन् ।
 
जर्मनीको विदेश मन्त्रालयले रुसको भनाइलाई ध्यानमा राखेको र दुवै पक्षबीच पछिल्ला घटनाक्रमबारे सम्पर्क कायम रहेको अल्जजिराले जनाएको छ ।
 
मस्कोले बर्लिनलाई रुस र जर्मनीबीचको सम्बन्ध पूर्णरूपमा नष्ट गर्न जारी राखेको आरोप लगाएको छ । बर्लिनको शत्रुतापूर्ण कार्यको प्रतिक्रियामा रुसी पक्षले उसको निर्णयलाई प्रतिबिम्बित गर्ने गरी रुसबाट जर्मन कूटनीतिज्ञहरूलाई निष्कासन गर्ने निर्णय गरेको छ, रुसी विदेश मन्त्रालयले भनेको छ ।
 
जर्मनीले वर्षौदेखि मस्कोसँग विशेष गरी ऊर्जा क्षेत्रमा गहिरो आर्थिक सम्बन्ध राखेको थियो । गत वर्ष जर्मनीले सुरक्षा खतराको प्रतिनिधित्व गरेको भन्दै ४० रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । एजेन्सी