Trending :
 

छिटपुट बाहेक तिनै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न, मत गणना आजै रातिबाट

बैशाख १०,२०८०

-आस्था न्यूज

वैशाख १०, २०८० काठमाडौं। 
चितवन-२, बारा-२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे ।
 
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।
 
‘पौने पाँच बजेको स्थिति हेर्दा तीनवटै स्थानको ५५ र ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको प्रमुख थपलियाको भनाइ छ ।
 
गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै तनहुँ र बाराबाट निर्वाचित सांसदहरु क्रमश राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।
 
छिटफुट बाहेक तिनै क्षेत्रमा शान्तिपूर्ण मतदान सकिएकोले सर्वदलिय बैठक बसेर सकभर आजै नभए भोली विहानैबाट मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।