Trending :
 

बारामा पनि मतगणनाको तयारी, चितवनमा ढिलाईः तनहुँमा वाग्लेको अग्रता कायमै

बैशाख ११,२०८०

-आस्था न्यूज

वैशाख ११, २०८० काठमाडौं ।
प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नं २ मा आइतबार भएको मतदानको गणना सोमबार बिहान ११ बजेदेखि गरिने भएको छ । मतपेटिका संकलन गरिसकेपछि बिहान सर्वदलीय बैठक बसेर ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरिएको हो ।
 
हाल उम्मेदवारहरूको प्रतिनिधिका लागि परिचयपत्र बनाउने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
 
सोमबार बिहानदेखि नै गणनास्थलमा नेता कार्यकर्ताको आवतजावत बढेको छ । साथै गणनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 
बारा २ मा यस उपनिर्वाचनमा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गणनाको क्रममा प्रत्येक उम्मेदवारको तर्फबाट एकरएक जना प्रतिनिधि राख्ने सहमति भएको छ ।
 
जिल्ला निर्वाचन कार्यालय प्रमुख चौधरीका अनुसार पचरौता र महागढीमाई नगरपालिका, करैयामाई, देवताल र सुवर्ण गाउँपालिका गरी ५ पालिकाको १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा त्यसको ६५ प्रतिशत अर्थात ६८ हजार ८ सय ८६ मत खसेको छ । गणनास्थलभित्र तार जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
 
यससँगै तनहुँ १ मा भने मतगणना जारी छ । जहाँ रास्वपाका स्वर्णिम वाग्लेले अग्रता कायम गरिराखेका छन्।
 
उता उप निर्वाचन भएको चितवन २ मा सर्बदलीय बैठक सुरु भएको छ।
 
बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । 
 
चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।