बाजुरा लगायतका विकट १० जिल्लामा विशेष कार्यक्रम ल्याउन माग
-आस्था न्यूज
वैशाख १२, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले मानव विकास सूचकांकको पुच्छारमा रहेको बाजुरा लगायतका १० जिल्लामा विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पाण्डेले भने, ‘बाजुरा मानव विकास सूचकांकमा ७७औं स्थानमा रहेको गरिब जिल्ला हो। त्यसैगरी बझाङ, हुम्ला, कालिकोट, अछाम, जाजरकोट, मुगु, महोत्तर र रौतहट लगायतका जिल्लाहरु पुच्छारमा रहेका छन्।’
सांसद पाण्डेले संसारको सबैभन्दा गरिब देश दक्षिण सुडानको एचडीआई भ्यालुभन्दा तल बाजुरा लगायत हाम्रै देशका ५ जिल्ला रहेको बताए। उनले यस तथ्यलाई हृदयगमन गर्दै नेपाल सरकारले बाजुरा लगायत पुच्छारमा रहेका १० जिल्लालाई लक्षित गर्दै आगामी आर्थिक वर्षमा बटम १० विशेष योजना कार्यक्रम घोषणा गर्न सरकारसमक्ष जोडदार माग गरेका छन्।