केन्यामा भगवान् भेट्न भन्दै भोकभोकै ब्रत बसेका ८३ जनाको मृत्यु

बैशाख १३,२०८०

-आस्था न्यूज

वैशाख १३, २०८० काठमाडौं ।
केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन्। यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको संख्या ८३ पुगेको छ।
 
चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको संख्या बढ्नसक्ने बताएका छन्। निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जंगलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए। उनीहरूले आरोपीको खोजीमा दिनभर जंगलमा बिताएका थिए।
 
आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएका हुन्। मृतक बालबालिकाले उनीहरूले श्वेतवस्त्र लगाएको पाइएको छ। भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्। एजेन्सीहरुको सहयोगमा
 
गुडन्युज चर्चका केही अनुयायीले शाकोला जंगलमा अझै पनि भगवानसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन्। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ।
 
यसैबीच, मालिन्दी अस्पतालका अधिकारीले मृतकको संख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको बताउँदै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेका छन्। उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहार गरेका छन्।