अर्थतन्त्रमा देखिएका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्नेमा जोड
-आस्था न्यूज
वैशाख १३, २०८० काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताएका छन्।
बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन्।
उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरूको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।
मुलुकको अर्थतन्त्रलाई गति दिन सत्तापक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको उनले बताए।
अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्व तहमा छलफल भइरहेको पनि दाबी गरे।
सदनमा सदस्यहरूले भनेजस्तो अर्थतन्त्रमा दबाब भए पनि कहालीलाग्दो अवस्था नभएको उनले बताए। अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्ने ठोस प्रतिबद्धता सरकारसँग रहेको बताए।
अर्थतन्त्रमा समस्याका चाङ रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे। मन्त्री महतले अर्थमन्त्री भएर आएको एक महिना भएको भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए।