लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेस
-आस्था न्यूज
बैशाख १४, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् ।
चौधरीलाई ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएको नेपाली कांग्रेस प्रदेश सभा सदस्य राजु खनालले जानकारी दिए । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए ।