Trending :
 

एसीसी प्रिमियर कपः कतारलाई हराउँदै नेपाल समूह विजेता

बैशाख १४,२०८०

-आस्था न्यूज

बैशाख १४, २०८० काठमाडौं ।
एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।
 
टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो । 
 
नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।
 
कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए ।
 
ईनिङको पहिलो बलमा नै छक्का प्रहार गरेर नेपाललाई केही दबाब दिएको कतारले लगातार विकेट गुमाउदा खेल गुमायो ।
 
नेपालका लागि सन्दपि लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । सन्दीपले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिएका थिए । 
 
ललितनारायण राजवंशीले २ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो । 
 
नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । 
 
कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए । 
 
दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । 
 
अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो । 
 
कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए । 
 
चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ । शनिबार नेपालले समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।