रविलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने मन्त्री किरातीको भनाई
-आस्था न्यूज
वैशाख १५, २०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताउनुभएको छ ।
शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासङ्घ नेपालद्वारा संयुक्तरूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताउनुभएको हो । उहाँले नागरिकले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउनुभयो । नागरिकको विश्वासमाथि सम्मान गर्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री किरातीले नागरिकले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनुभयो । उहाँले नेपालीहरू कोही पनि एकअर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनुभयो । देश आर्थिक सङ्कटमा रहेकाले कुनै पनि पार्टीलाई प्रतिपक्षमा नबस्न उहाँको आग्रह छ ।