मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाही हुने गृहमन्त्रीको भनाई
-आस्था न्यूज
वैशाख १७, २०८० काठमाडौं ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई कारबाही गरेरै छाड्ने चेतावनी दिएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने बताए ।
उनले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकारले चालेका कदमलाई उत्साहजनक समर्थन गरेको भन्दै सबै राजनीतिक दल र मधेश प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे ।