Trending :
 

कृषि र रोजगारीलाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने प्रधानमन्त्रीको भनाई

बैशाख १७,२०८०

-आस्था न्यूज

वैशाख १७, २०८० काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन्। 
 
आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताएका हुन्। 
 
कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिने र यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको उनको भनाइ छ। 
 
नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको छ। प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै हो प्रधानमन्त्रीले भने,आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ। वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ। तर, आज पनि अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि नै हो। यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ।
 
४ महिनामा निकै राम्रा काम भएको उनको भनाइ छ। लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ। विदेशी मुद्राको वञ्चिति उत्साहवर्द्धक रूपमा बढेको छ। पर्यटक आउने क्रममा सुधार आएको छ, प्रधानमन्त्रीले भने। लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। 
 
भेटमा ६ वटा किसान संगठन आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेस गरेका थिए।