बजेट निर्माणमा विगतका कतिपय कार्यक्रम बदल्ने प्रचण्डको घोषणा
-आस्था न्यूज
वैशाख १९, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् । सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय कार्यक्रम बदल्ने बताएका हुन् ।
चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पहिलाका कतिपय कार्यक्रम असफल भएकाले तिनलाई बदल्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् ती कार्यक्रमले नतिजा राम्रो नदिएको उनको भनाई थियो ।
अनुदानका कार्यक्रमहरुमा समेत फेबदल गर्ने तयारीमा रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो ।
वास्तविक किसान जल्ले काम गर्छ उनीहरुकहाँ त्यो अनुदान पुगेको छैन् । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने ब्यापक रुपले आयो । त्यसकारण त्यस्ता कार्यक्रम म बदल्दैछु,’ प्रचण्डले भने ।
आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने पनि उनले बताए । ‘अहिलेको बजेटको फोकस युवाहरुलाई सम्बोधन गरेर रोजगार सिर्जना गर्नेमा नै हुन्छ । कृषिमा नै हुन्छ । उद्योगहरुमा पनि कृषिमा आधारित कृषिमै जोड हुन्छ,’ उनले भने ।