चिनी निर्यातमा प्रतिबन्ध लगाउने भारतको तयारी, नेपालाई असर

बैशाख १९,२०८०

-आस्था न्यूज

वैशाख १९, २०८० काठमाडौं ।
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उत्पादनमा कमी आएको कारण निर्यात प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ।
 
आगामी वर्ष भारतमा लोक सभाको निर्वाचन हुने भएकाले निर्वाचन हुनुअघि आउन सक्ने मूल्यवृद्धिको दबाब कम गर्न भारतीय सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको सञ्चार माध्यमले जनाएका छन्।
 
भारतमा अहिले घरेलु उपभोग मात्र धान्ने गरी करिब दुई करोड ७५ लाख टन चिनी छ। तर यो वर्ष हुने प्रदेश सरकारको चुनाव र आगामी वर्ष हुने लोक सभाको निर्वाचनलाई हेरेर यस्तो निर्णय गर्न लागिएको त्यहाँका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
 
भारतीय सरकारको यो नीतिले नेपाली उद्योगमा प्रत्यक्ष असर पर्ने देखिन्छ। चकलेट, आइसक्रिम, जुस, चिसो पेय पदार्थ, बेकरी आइटम, बिस्कुट लगायतका उद्योगमा चिनी प्रयोग हुन्छ। हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनका लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन (२५ करोड किलो) चिनी खपत भइरहेको छ। 
 
यसमध्ये, करिब एक लाख ३० हजार मेट्रिक टन (१३ करोड किलो) स्वदेशी उत्पादनले धान्दै आएको छ। बाँकी एक लाख २० हजार मेट्रिक टन (१२ करोड किलो) विभिन्न मुलुकबाट आयात गरिन्छ।