Trending :
 

सत्तारुढ गठबन्धनको बैठक बस्दै

बैशाख २०,२०८०

-आस्था न्यूज

वैशाख २०, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी राजनीतिक दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले बुधबार दिउँसो ३ बजे सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । 
 
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सरकारमा रहेका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाइएको बताए । सरकारमा सहभागी हुनुभएका दलहरूका शीर्ष नेताहरूको बैठक बोलाएको छ । सरकारलाई समर्थन गर्ने दलहरूलाई सरकारमा ल्याउने विषयमा छलफल हुन्छ, उनले भने, सरकारमा समर्थन गर्ने दलहरूलाई सरकारमा ल्याउँदा उहाँहरूले उठाएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुन्छ ।
 
सरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउनेबारे प्रधानमन्त्री दाहालले सत्तारुढ दलहरूसँग छलफल गर्न लागेका हुन् । रास्वपाका सभापति रवि लामिछाने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर आएपछि सरकारमा सहभागी हुन चाहेका छन् ।
रास्वपाले कि मन्त्रिपरिषद्‌मा सहभागी हुने कि प्रतिपक्षमा जाने निर्णय गर्न आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । यसबीचमा लामिछानेले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग छलफल गरिसकेका छन् । 
 
रास्वपाले पार्टीलाई मन्त्रिपरिषद्‌मा गृहलगायतका मन्त्रालय दिनुपर्ने र नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग अघि सारेको छ । ती माग पूरा नभए समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने चेतावनी रास्वपाले दिएको छ ।