युक्रेनले रुसी राष्ट्रपति पुटिनको हत्या गर्न खोजेको आरोप

बैशाख २१,२०८०

-आस्था न्यूज

वैशाख २१, २०८० काठमाडौं । 
रुसले युक्रेनमाथि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयासको आरोप लगाएको छ ।
 
गत मंगलबार राति रुसी राष्ट्रपति भवन क्रेमलिनमा ड्रोनबाट आक्रमण प्रयास भएको भन्दै क्रेमलिनले त्यसको बदला लिने चेतावनी दिएकोे छ ।
 
यही मे ९ तारिखमा मनाईने रुसी विजयोत्सव दिवस अगाडि राष्ट्रपति पुटिनको हत्या प्रयास भएको आरोप रुसको छ ।
 
रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभदेवले त्यहाँको संसद दुमामा बोल्दै रुसलाई बदला लिने पूर्ण अधिकार रहेको बताउनुभयो ।
 
उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आतंककारीको संज्ञा दिंदै उनलाई भौतिक रुपमै समाप्त पार्नुपर्ने बताउनुभयो ।
 
यता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले क्रेमलिनमा गरिएको भनिएको ड्रोन आक्रमणमा आफ्नो देशको संलग्नता नरहेको दाबी गर्नुभएको छ ।
 
फिनल्याण्ड भ्रमणमा रहनु भएका जेलेन्स्कीले युक्रेनी सेना आफ्नै भूमिमा लड्ने र आफ्नै गाउँ र शहरहरूको रक्षा गर्ने बताउनुभएको हो ।
 
अनलाइनमा प्रसारित अप्रमाणित भिडियोमा मध्य मस्कोको ठूलो सरकारी परिसर क्रेमलिनमा धुवाँ उडिरहेको देखिन्छ । दोस्रो भिडियोले सिनेट भवनको माथि एउटा सानो विस्फोट देखाएको छ ।