दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न सिफारिस
-आस्था न्यूज
वैशाख २१, २०८० काठमाडौं ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न सिफारिस गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदन मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिइएको छ।
गत कात्तिकमा पनि दूध अभाव भएपछि यसैगरी दैनिक परिमाणत्मक बन्देजसहित आयात खोलिएको थियो। बोर्डका उपकार्यकारी निर्देशक बालक चौधरीका अनुसार सरोकारवालासँग छलफलमा आधारित भएर बोर्डले यस्तो निचोड निकालेको हो।
मन्त्रालयमा डेरी उद्योगहरुले भारतबाट धुलो दूध, कच्चा दूध र बटर आयात गर्न माग गर्दै निवेदन दिएका थिए। मन्त्रालयले उद्योगीको मागबारे छलफल र अध्ययन गरेर सिफारिस प्रतिवेदन बनाउन बोर्डलाई भनेको थियो।
बोर्डले धुलो दूधको उत्पादन नेपालभित्रै बढेकाले आयात गर्नुनपर्ने निष्कर्ष निकालेको उपकार्यकारी निर्देशक चौधरीले बताए।