रवि लामिछानेलाई गृहमन्त्री दिन प्रधानमन्त्री तयार रहेको रास्वपाको भनाई
-आस्था न्यूज
वैशाख २२, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डिपी अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको बताएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री पनि सरकारबाट फिर्ता भएका थिए ।
रवि लामिछानेले फेरि चुनाव जितेर आएपछि प्रचण्ड रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न तयार भएको अर्यालले दाबी गरे ।
उनले पार्टी भित्र सरकारमा जाने र नजाने भन्ने दुवै प्रकारका मत रहेकाले केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बसेर टुंगो लगाउने बताए ।
उनले सभापति लामिछानेलाई प्रधानमन्त्री बन्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारेका छन् ।