भारतसँगको सम्बन्धलाई स्थिर बनाउन चिनियाँ विदेशमन्त्रीको आह्वान

बैशाख २२,२०८०

-आस्था न्यूज

वैशाख २२, २०८० काठमाडौं । 
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गरेका छन्। 
 
बिहीवार सांघाई सहयोग सङ्गठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकको बीचमा भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरसँगको भेटवार्तामा छिनले यस्तो आग्रह गरेका हुन् ।
 
मन्त्री छिनले दुई पक्षले इतिहासबाट पाठ सिक्नुपर्ने र रणनीतिक एवं दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सम्हाल्ने बताए । उनले दुई छिमेकीलाई एकअर्कालाई सम्मान गर्न र एकअर्कालाई सुदृढ बनाउन र आ–आफ्नो राष्ट्रिय पुनर्जागरणमा योगदान पुर्‍याउँदै विश्व शान्ति र विकासमा स्थायित्व र सकारात्मक ऊर्जा सम्प्रेषण गर्दै सामञ्जस्यपूर्ण सहअस्तित्व, शान्तिपूर्ण विकास र साझा पुनरुत्थानको नयाँ मार्गमा लाग्न आह्वान गरे ।
 
चीनले भारतसँग द्विपक्षीय परामर्श र आदानप्रदान गर्न, बहुपक्षीय ढाँचा अन्तर्गत वार्ता र सहयोग अभिवृद्धि गर्न र अन्तरराष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय र सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको पनि उनले उल्लेख गरेका छन् । उनले चीन–भारत सीमानाको वर्तमान अवस्था सामान्यतया स्थिर रहेको पनि उल्लेख गरे ।